जिल्ला परिचय

कपिलवस्तु जिल्ला नेपालको ५ नं. प्रदेश अन्तरगत लुम्बिनी अञ्चलको ६ जिल्लाहरुमध्ये तराइमा पर्ने एक जिल्ला हो । २७ डिगी २५ मिनेट देखि २७ डिगी ४९ मिनेट उत्तरी अक्षांश र ८२ डिगी ४१ मिनेटदेखि ८३ डिगी १४ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको यस जिल्लाको कुल क्षेत्रफल १७३८ वर्ग कि.मि.रहेको छ । नेपालको मानचित्रमा यस जिल्लाको पूर्वमा रुपन्देही, पश्चिममा दाङ, उत्तरमा अर्घाखाँची जिल्ला र दक्षिणमा भारतको उत्तरप्रदेश रहेका छन । जिल्लाको सरदर पूर्वपश्चिम लम्बाइ ३३.५माइल र उत्तर दक्षिण चौडाइ २० माइल रहेको पाइन्छ । कपिलवस्तु नामाकरणका सम्बन्धमा प्राप्त जनविश्वास अनुसार प्राचीनकालमा कौशल देशका राजा ओकाकका सन्तानहरु उत्तरपट्टि छोडिदा घुम्दै कपिलमुनी ऋषिको आश्रममा पुगे । उनीहरुले आफ्नो बृत्तान्त उल्लेख गरेपछि ऋषिले नजिकको सालको जंगल फाँडी बसोबास गर्न सल्लाह दिए अनुसार कालान्तरमा घना बस्ती हुन गएकोले कपिवत्थु हुँदै कपिलवस्तु नामाकरण हुन गयो । राजा शुद्धोधनको दरवार तथा भगवान गौतम बुद्धको बाल्य कृडास्थल तिलौराकोट जिल्लाको प्रमुख पर्यटकिय स्थलको रुपमा रहेको छ ।

विश्व सिमसार सचीमा परेको क्षेत्रः जगदिशपर ताल, शाक्य राजधानी (गौतम बुद्धको पिताको राजधानी) प्राचिन धार्मिक पर्यटकिय स्थलः तिलौराकोट, प्राचिन धार्मिक पर्यटकिय स्थलः कुदान, अंग्रेजसंगको लडाई भएको गौरवशाली स्थानः स्यूराज, शिवगढी जस्ता प्रसिद्ध स्थानहरु यस जिल्लामा रहेका छन् ।

यस जिल्लामा गर्मीमा तातो हावा (लु) चलेको बखत अधिकतम ४३ डिग्री सेल्सियससम्म पुग्दछ भने जाडोमा ४.५ डिग्री सेल्सियससम्म तापक्रम तल झर्ने गरेको पाइन्छ । साथै यस जिल्लामा औसत बार्षिक वर्षा १,५०० मिलिलिटर रहेको छ । चैत्र महिनादखि असोजको प्रारम्भसम्म निकै गर्मी, असोज, कार्तिक र फाल्गुणमा समसितोष्ण तथा बाँकी तीन महिना (मंसिर, पुष र माघ) मा ठण्डी हुनेगर्दछ । यसरी यो जिल्लाको हावापानी मौसम अनुसार विविध र विषम किसिमको रहेको छ ।(श्रोतः तथ्याङ्क कार्यालय, कपिलबस्तु)